लोड हुँदैछ...

मेनु

वाल्मीकि मेमोरियल विद्यालयद्वारा एसईई २०८१ का विद्यार्थीहरूलाई सम्मान

वाल्मीकि मेमोरियल विद्यालयद्वारा एसईई २०८१ का विद्यार्थीहरूलाई सम्मान

पथरी अपडेट
पथरी। वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले २०८१ सालका एसईई परीक्षार्थीहरूलाई बधाई, शुभकामना तथा सम्मान स्वरूप विशेष कार्यक्रम सम्पन्न गरेको छ । २४औं ब्याचका रूपमा रहेको २०८१ सालका एसईईमा ७० जना विद्यार्थी सहभागी थिए, जसले उत्कृष्ट नतिजासहित सत प्रतिशत पास भएका छन् ।

कार्यक्रम हरियाली सामुदायिक वन पब्लिक कम्पनीको सभाहलमा आयोजना गरिएको थियो । विद्यालयका अनुसार आयुष्मा दाहाल र निश्चल न्यौपानेले ४.० जिपिए ल्याएर विद्यालयको गौरव बढाएका छन् । उनीहरूलाई विद्यालयले जनही १ लाख रुपैयाँसहित सम्मान गरेको छ । त्यस्तै, ३.९१ भन्दा बढी जिपिए ल्याउने विद्यार्थीहरूलाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

त्यस्तै विद्यालयले ३.९५ जिपिए ३ जना, ३.९१ जिपिए ९ जना, ३.८ जिपिए १० जना, ३.७ जिपिए ९ जना, ३.६ जिपिए १० जना, ३.२ जिपिए २४ जना, ३.० जिपिए ३ जनाले प्राप्त गरेका थिए ।

कार्यक्रम विद्यालयका संस्थापक नवल किशोर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन प्रसाद तुम्वापो सहभागी थिए । साे कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीम कुमार राई, वडा नं. २ का वडाध्यक्ष नैना राई, प्याब्सन नगर कमिटी अध्यक्ष सन्तोष बस्नेत, र प्याब्सन मोरङ सल्लाहकार समितिका सदस्य लेखनाथ भट्टराईको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य प्रधानाध्यापक चन्द्रप्रसाद दुलालले राखेका थिए । सभाध्यक्ष नवल किशोर खनालले कक्षामा ११ का ७५ जना विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने जानकारी दिँदै ३ जिपिएभन्दा माथि ल्याउने विद्यार्थीहरूलाई होटल म्यानेजमेन्ट संकायमा निःशुल्क अध्ययन गराउने घोषणा पनि गरे ।

कार्यक्रममा विद्यार्थीहरूले देशभक्ति गीत ‘काला पानी’ ‘सुन साईली’,राउटे र याख्खा नृत्यजस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यालयले कक्षा ८ को बोर्ड परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गरेको थियाे । विद्यार्थी राशी कार्की, प्रतिष्ठा खत्री, र अभिक्षा बिष्टले ४.० जिपिए ल्याउँदै गोल्ड मेडल प्राप्त गरेका थिए । ३० जना विद्यार्थीले ३.६ जिपिए ल्याएका थिए भने ८६.९ प्रतिशत विद्यार्थीहरूले उत्कृष्ट जिपिए प्राप्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहन प्रसाद थुम्वापोले भने, “एसईई दिने विद्यार्थीहरू, तिनका अभिभावक र शिक्षक शिक्षिकालाई म हार्दिक बधाई दिन चाहन्छु । वाल्मीकि विद्यालयले पठनपाठन मात्र होइन, अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै फड्को मारेको छ । यस्तो विद्यालय समुदायको गौरव हो, र यसको प्रगतिमा नगरपालिकाले निरन्तर साथ दिनेछ ।”

कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक तथा शिक्षिकाहरूलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्