पथरी अपडेट
उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ६ मा टर्मिनल भवनसहितको अत्याधुनिक बसपार्क निर्माण हुने भएको छ। यसका लागि असार १९ गते आज सम्झौता भएको छ।
११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपैयाँ २५ पैसामा सम्झौता गरिएको उक्त परियोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्झौता अभी डिजाइनर्स एण्ड डेभलपर्स प्रा.लि., हेटौंडा सँग गरिएको हो। सम्झौतामा उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ता र निर्माण व्यवसायी नविन गौतमले हस्ताक्षर गरेका छन्।
परियोजना लागतमा नगरपालिकाले ३० प्रतिशत साझेदारी गर्नेछ भने १० प्रतिशत नगर विकास कोषको अनुदान र ६० प्रतिशत नगर विकास कोषको ऋण रहनेछ।

सम्झौता कार्यक्रममा उर्लाबारी नगरप्रमुख गंगा प्रसाद खरेल, उपप्रमुख मीना कुमारी खतिवडा, इञ्जिनियर पोखराज साह, इञ्जिनियर रोशन उदास लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
योजना तथा अनुगमन शाखाका प्रमुख विकाश दाहालका अनुसार यो परियोजनाले उर्लाबारीको यातायात व्यवस्थापनलाई व्यवस्थित गर्दै नगरको व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने छ।


प्रतिक्रिया दिनुहोस्